नुवाकोट : अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आइएफआरसी) का महासचिव जगन चापागाईंले भोटेकोसी बाढी प्रभावित नुवाकोटका क्षेत्रको स्थलगत अनुगमन गर्दै नेपाल रेडक्रस सोसाइटीको प्रतिकार्य, प्रभावित समुदायको अवस्था तथा आगामी सहायता योजनाबारे जानकारी लिएका छन्।

अनुगमनका क्रममा उनले बाढी प्रभावित समुदायको उद्धार, राहत तथा स्वास्थ्य सेवामा निरन्तर खटिएका रेडक्रसका स्वयंसेवक तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै प्रभावित समुदायका मानवीय आवश्यकतामा आवश्यक सहयोग र सहकार्यका लागि आइएफआरसी प्रतिबद्ध रहेको बताए।

महासचिव चापागाईं नेतृत्वको टोलीले विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठ, उपमेयर प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी लगायत स्थानीय सरोकारवालासँग भेटघाट गरी बाढीपछिको अवस्था, प्रतिकार्यका आवश्यकता तथा आगामी सहयोगबारे छलफल गरेको थियो।

यसै क्रममा उनले विदुर नगरपालिका–१० का बाढी प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहायता हस्तान्तरण कार्यक्रममा सहभागी हुनुका साथै नेपाल रेडक्रसद्वारा सञ्चालित आपत्कालीन क्लिनिकको निरीक्षण गरी प्रभावित समुदायलाई उपलब्ध स्वास्थ्य सेवाबारे जानकारी लिए।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति हरि श्रेष्ठले जिल्ला शाखाको प्रतिकार्य गतिविधि तथा केन्द्रीय कार्यालयका महामन्त्री ऋषिरमण खनालले केन्द्रीय प्रतिकार्यको प्रगति र आगामी योजनाबारे महासचिव चापागाईंलाई जानकारी गराएका थिए।

भ्रमणका क्रममा राहत, स्वास्थ्य, खानेपानी, संरक्षण तथा पुनःस्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, नेपाल रेडक्रस र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुबीच समन्वय र सहकार्य सुदृढ गर्ने विषयमा विशेष छलफल भएको थियो ।


