धादिङ : बाढीका कारण खानेपानीको समस्या झेलिरहेका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनः खानेपानी सेवा सञ्चालनमा आएको छ ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाद्वारा सञ्चालित ‘रसुवा बाढी प्रतिकार्य कार्यक्रम’ अन्तर्गत महेशखोला–भट्टार–जिन्टेटार डिप बोरिङ खानेपानी मर्मत योजना सम्पन्न भएपछि स्थानीयवासीका घरघरमा पुनः खानेपानी पुगेको हो ।
मर्मत कार्य सम्पन्न भएपछि आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले खानेपानी योजनाको औपचारिक उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा अध्यक्ष खतिवडाले बाढीपछि स्वच्छ खानेपानीको अभाव झेलिरहेका नागरिकलाई पुनः सहज रूपमा खानेपानी उपलब्ध गराउन रेडक्रसले गरेको मानवीय कार्यको प्रशंसा गर्दै यसलाई पालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
खानेपानी योजना मर्मतका लागि नेपाल रेडक्रस सोसाइटीले रु. ४ लाख ४६ हजार ६ सय ८० आर्थिक सहयोग गरेको थियो । उक्त सहयोगबाट आवश्यक मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गरिएको हो ।
योजनाबाट गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति दुर्लभ कुमार तामाङले विपद्को समयमा खानेपानीजस्तो आधारभूत आवश्यकता पूरा गर्न योजना पुनःस्थापना गर्नु रेडक्रसको मानवीय सेवाको महत्वपूर्ण हिस्सा भएको बताए ।
“विनाशकारी बाढीपछि खानेपानीको हाहाकार खेपिरहेका स्थानीयको जनजीवन यस मर्मतपछि पुनः सामान्य हुने विश्वास लिएका छौँ,” जिल्ला कार्यक्रम संयोजक सरोज थापाले भने ।
वि.सं. २०८३ भदौ १७ गते सम्झौता भई सुरु भएको मर्मत कार्य निर्धारित समयभित्रै सम्पन्न गरिएको हो । योजना पुनः सञ्चालनमा आएसँगै लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका स्थानीयवासीमा खुसी छाएको छ ।
बाढीपछिको प्रतिकार्यमा राहत तथा उद्धारसँगै प्रभावित समुदायका आधारभूत आवश्यकता तथा महत्वपूर्ण पूर्वाधारको पुनःस्थापनालाई प्राथमिकता दिँदै आएको रेडक्रसले खानेपानी योजना पुनः सञ्चालनमा ल्याएपछि स्थानीयको दैनिक जनजीवन थप सहज हुने अपेक्षा गरिएको छ ।
खानेपानीजस्तो आधारभूत सेवाको पुनःस्थापनाले बाढी प्रभावित समुदायलाई तत्काल राहत प्रदान गर्नुका साथै विपद्पछिको पुनर्स्थापना र सामान्य जीवनतर्फ फर्किने प्रक्रियामा समेत सहयोग पुगेको रेडक्रसले जनाएको छ ।

