काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमण परिणाममुखी र अर्थपूर्ण हुने अपेक्षा दुवै देशले राखेको बताएका छन् । यद्यपि, भ्रमणको औपचारिक मिति भने अझै तय भइनसकेको उनले स्पष्ट पारे ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले नेपाल र भारतबीच भ्रमणबारे सकारात्मक छलफल भइरहेको जानकारी दिए । उनले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आइसकेको स्मरण गराउँदै उपयुक्त समयमा भ्रमण हुने बताए ।
“भ्रमण कहिले हुन्छ भन्ने निश्चित भइसकेको छैन, तर दुवै पक्षले यसलाई परिणाममुखी बनाउने चाहना राखेका छन्,” मन्त्री खनालले भने ।
मन्त्री खनालले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता उपलब्धिमूलक रहेको दाबी गर्दै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भएको भेटघाटमार्फत नेपालको राष्ट्रिय हित प्रवर्द्धन गरिएको बताए । साथै, बाढीपछिको विपद् व्यवस्थापनका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ ।
सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले आगामी भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

