ताजा अपडेट
ताजा समाचार १० कात्तिक २०८३ • ३ मिनेट पठन

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

जनदृष्टि प्रेस

१० कात्तिक २०८३

रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार बाढीका कारण नागरिकतालगायत महत्वपूर्ण काजगात नष्ट भएका बाढी प्रभावितको राहत, पुनर्स्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा ढिलाइ नहोस् भनी अस्थायी बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको हो ।  

यसै सन्दर्भमा नुवाकोटस्थित पिपलटार होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका उत्तरगया–१ का २०२ जना बाढी प्रभावितले  नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन फाराम संकलन गरी यही आइतबार सदरमुकाम धुन्चे ल्याएको प्रजिअ पाण्डेले बताए ।

स्थलगत रुपमा संकलन गरिएका आवेदन फारामको अध्ययन तथा प्रमाणीकरण गरी निकालिने प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पारे ।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गाउँपालिका प्रमुख  माधव अर्यालले जानकारी दिए । प्रमुख अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमशः उपलब्ध गराउँदै लगिनेछ ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *