आइतबार, १६ अगस्ट २०२६
ताजा अपडेट

रवीन्द्र मिश्रले दलीय राजनीतिबाट लिए विदा, स्वतन्त्र रूपमा विचार राख्ने घोषणा

लेखक / संवाददाता

March 7, 2026

रवीन्द्र मिश्र ले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिँदै सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्।

सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उनले आफ्नो निर्णय कुनै निराशा, हताशा वा हतारमा नभई धेरै सोचविचार गरेर लिएको बताएका छन्। उनले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत देखिए पनि त्यसलाई संगठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी बारम्बार असफल भएको उल्लेख गरेका छन्।

पार्टीका वरिष्ठ उपाध्यक्षको हैसियतले उक्त असफलतामा आफू पनि जिम्मेवार रहेको उनले स्वीकार गरेका छन्।

मिश्रले बदलिँदो भूराजनीतिक अवस्था र देशभित्र देखिएको चौतर्फी चुनौतीका बीच देशको हितलाई विचारभन्दा माथि राखेर नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन्।

यस सन्दर्भमा उनले दुई महत्वपूर्ण निर्णय घोषणा गरेका छन्।

पहिलो, आजकै मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

दोस्रो, राजसंस्था पुनर्स्थापना तथा सुशासनजस्ता मुद्दामा आफ्नो अडान यथावत रहने र अब केही समय गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार र अडानहरू सार्वजनिक गर्दै जाने बताएका छन्।

मिश्रले गत नौ वर्षको आफ्नो राजनीतिक यात्रालाई उतार–चढावपूर्ण रहेको उल्लेख गर्दै आफूले आफ्नो विवेक र क्षमताअनुसार देशको राजनीतिक तथा राष्ट्रिय रूपान्तरणका लागि इमानदारीपूर्वक प्रयास गरेको बताए। तर त्यो प्रयास अझै पर्याप्त नभएको उनले स्वीकार गरेका छन्।

उनले व्यक्तिगत स्वार्थलाई देशभन्दा माथि राखेर कुनै पनि काम नगर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यस क्रममा देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा कार्यकर्ताले दिएको साथ र सहयोगप्रति उनले आभार व्यक्त गरेका छन्।

यसैबीच उनले हालै सम्पन्न निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

नेपालको राजनीति “प्रचण्डपथमा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको” भन्दै उनले देश तातो तावाबाट भुङ्ग्रोमा नपरोस् भन्ने कामना गरेका छन्।

अन्त्यमा उनले “तपाईंहरू सबैको जय होस्, पृथ्वीपथको जय होस्, नेपालको जय होस्” भन्दै आफ्नो वक्तव्य टुंग्याएका छन्।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *