काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार प्रदेश सचिव जीवलाल भुसाललाई ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ। रामकृष्ण पुडासैनी घोराही उपमहानगरपालिका, तीर्थराज राई आदिवासी जनजाति आयोग, भूपेन्द्र थापा लगानी बोर्ड र डा. पुष्पराज शाही धरान उपमहानगरपालिकामा सरुवा भएका छन्।
त्यस्तै बेदप्रसाद खरेललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, चिरञ्जीवी पौडेललाई राष्ट्रिय दलित आयोग, रामबन्धु सुवेदीलाई पर्यटन मन्त्रालय र उदयबहादुर रानामगरलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
होमनाथ पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आनन्द सारु र मेखबहादुर मंग्राती अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन्।
यसैगरी सुरेन्द्र पौड्याल राष्ट्रिय समावेशी आयोग, कृष्णबहादुर शाही र विष्णुप्रसाद ज्ञवाली गृह मन्त्रालय, नमराज घिमिरे उद्योग मन्त्रालय तथा युवराज अधिकारी मुस्लिम आयोगमा सरुवा भएका छन्।
मन्त्रिपरिषद्को निर्णयसँगै विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा स्थानीय तहमा प्रशासन सेवाका सहसचिवको जिम्मेवारी हेरफेर भएको हो।

