ताजा अपडेट
खेलकुद १२ असोज २०८३ • ५ मिनेट पठन

शुभम रांजणेले विराटनगर किंग्सबाटै एनपिएल खेल्ने

जनदृष्टि प्रेस

१२ असोज २०८३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई टोलीमा पुनः अनुबन्ध गरेको छ ।

रांजणेले एनपिएलको दोस्रो संस्करणमा विराटनगर किंग्सबाट प्रभावशाली प्रदर्शन गरेका थिए । उनले चार खेलमा ८७ रन बनाउँदै टोलीको ब्याटिङमा महत्वपूर्ण योगदान दिएका थिए । उनको ब्याटिङ औसत २९ तथा स्ट्राइक रेट १२९ दशमलव ८५ रहेको थियो । प्रतियोगिताका क्रममा उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।

ब्याटिङसँगै बलिङमा समेत योगदान दिएका रांजणेले दोस्रो संस्करणमा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए । उनको यही बहुआयामिक क्षमताका कारण विराटनगर किंग्सले तेस्रो संस्करणका लागि उनलाई पुनः टोलीमा समावेश गरेको हो ।

विराटनगर किंग्स व्यवस्थापनले रांजणेको अनुभव, बहुआयामिक क्षमता र दबाबको अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमतालाई टोलीका लागि महत्वपूर्ण पक्षका रूपमा लिएको जनाएको छ । टोली व्यवस्थापनका अनुसार रांजणेले आवश्यकताअनुसार ब्याटिङ र बलिङ दुवैमा भूमिका निर्वाह गर्न सक्ने भएकाले उनको उपस्थितिले टोलीलाई थप मजबुत बनाउनेछ । टोलीमा पुनः आबद्ध भएपछि रांजणेले पनि खुसी व्यक्त गर्दै आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘विराटनगर किंग्ससँग फेरि जोडिन पाउँदा म निकै उत्साहित छु । गत संस्करणको अनुभव विशेष थियो र टोलीसँगको सम्बन्ध पनि निकै राम्रो रह्यो । अब तेस्रो संस्करणमा अझ राम्रो प्रदर्शन गर्दै टोलीको लक्ष्य पूरा गर्न योगदान दिने मेरो प्रयास हुनेछ,’ रांजणेले भने ।

उनले एनपिएल नेपाली तथा विदेशी खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च बनेको उल्लेख गर्दै विराटनगर किंग्सले आफूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरे । नेपालमा क्रिकेटप्रतिको बढ्दो क्रेज र समर्थकहरूको उत्साहले आफू प्रभावित भएको पनि उनले बताए ।

रांजणेले घरेलु, अन्तरराष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा लामो अनुभव बटुलेका छन् । उनले आफ्नो करियरमा मुम्बई, महाराष्ट्र, गोवा, राजस्थान रोयल्स, सियाटल ओर्कास, टेक्सास सुपर किंग्स, जोबर्ग सुपर किंग्स, सारजाह वारियर्स तथा ढाका क्यापिटल्सलगायत टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । क्रिकेट पृष्ठभूमि भएको परिवारबाट आएका रांजणे भारतका पूर्वक्रिकेटर वसन्त रांजणेका नाति तथा महाराष्ट्र र भारत यु–१९ बाट खेलिसकेका सुभाष रांजणेका छोरा हुन् ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *